दफा ३३
समुदायमा आधारित विवाद समाधान
(१) यस ऐन बमोजिम मेलमिलापद्वारा निरुपण हुन सक्ने विवादको समुदायमा आधारित मेलमिलाप सम्बन्धी संयन्त्रद्वारा पनि समाधान गर्न सकिनेछ ।
(२) उपदफा (१) बमोजिम विवाद समाधान गर्न सहज पुर्याउन सम्बन्धित समुदायले विवाद उत्पन्न भएपछि वा विवाद उत्पन्न हुनु अघि नै मेलमिलापकर्ताको समूह तयार गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिमको समूहमा देहायका व्यक्तिहरु रहन सक्नेछन्ः–
(क) स्थानीय समुदायका प्रतिष्ठित व्यक्तिहरु,
(ख) स्थानीय स्तरमा कार्यरत सामुदायिक संस्थाले तोकेका व्यक्तिहरु,
(ग) स्थानीय समाजसेवीहरु,
(घ) स्थानीय स्तरका विद्यालय वा महाविद्यालयमा कार्यरत शिक्षक वा प्राध्यापक ।
(४) उपदफा (३) बमोजिमको समूह तयार गर्दा आवश्यकता अनुसार उपयुक्त संख्यामा महिलाको प्रतिनिधित्वलाई सुनिश्चित गर्नु पर्नेछ ।